प्रम ओलीको अभिव्यक्ति द्वन्दलाई बढावा दिने नियतले प्रेरित/प्रम पदमा निरन्तरता कति उचित?

प्रेस विज्ञप्ति
प्रम ओलीको अभिव्यक्ति द्वन्दलाई बढावा दिने नियतले प्रेरित/प्रम पदमा निरन्तरता कति उचित?
प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रममा रामायणकालीन अयोध्या र रामका बारेमा दिनुभएको अति विवादास्पद एवं आपत्तिजनक अभिव्यक्तिको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्दछ । नेपालमा सरकार, राजनीतिक समाज, नागरिक समाज कसैले पनि नउठाएको र कतै नसुनिएको विषयलाई प्रधानमन्त्री पदमा आसिन व्यक्तिले लहडका भरमा अनावश्यक रुपमा व्यक्त गरेका धारणाले उता करोडौ मानिसहरुको आस्था र विश्वासमा चोट पुग्न सक्ने देखिन्छ भने यसैका कारण यता लज्जित हुनुपर्ने अवस्था पैदा भएको छ । प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्ति छिमेकका नागरिकलाई भड्काउने, शान्ति र सद्भाव खलबल्याउने एवं द्वन्दलाई बढावा दिने नियतले प्रेरित देखिन्छ जुन दुर्भाग्यपूर्ण छ ।
यस्ता अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संयम गुमाएको प्रतित हुँदा केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा निरन्तरता कति उचित ? यसबारे सम्बन्धीत निकाय विशेषतः सत्तारुढ नेकपा र यसको संसदीय दल÷संसदले बेला छँदै लोकतान्त्रिक तवरले छलफल गरी निष्कर्षमा पुग्नु आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।
समाजका तर्फबाट
उत्तम पुडासैनी
सभापति, मानव अधिकार तथा शान्ति समाज
केन्द्रिय कार्यसमिति
मिति : २०७७ असार ३०
समय : दिउँसो १ बजे