पूर्व प्रधानमन्त्रीद्वयलाई राज्यले कारबाई गर्नुपर्छ

पूर्व प्रधानमन्त्रीद्वयलाई राज्यले कारबाई गर्नुपर्छ

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०७६ माघ २५ गते जारी गरेको प्रेस विज्ञप्ति यसैसाथ संलग्न छ ।

प्रेस विज्ञप्ति
पूर्व प्रधानमन्त्रीद्वयलाई राज्यले कारबाई गर्नुपर्छ
वहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान/अध्ययनले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको र गणतन्त्र स्थापनामा डा. बाबुराम भट्टराईको विशेष योगदान विदितै छ । तर त्यही योगदानको आधारमा उहाँहरुले उन्मुक्ति पाउन सक्नुहुन्न किनकि उत्कृष्ट लोकतान्त्रिक पद्धतिमा दण्डहीनता र उन्मुक्तिलाई कुनै स्थान हुदैन । प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको सन्दर्भमा अब राज्यले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारवाई हेतु प्रक्रिया अघि बढाउनु पर्छ र त्यसको न्यायिक निरुपण हुनुपर्छ ।
यसैगरी उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्छ र ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई सबैले स्विकार गर्नुपर्छ । गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण छ । उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्राईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन नेपाली कांग्रेसले शान्तिपूर्ण दबाब दिन खोजेको हो भने त्यसको म स्वागत गर्दछु र त्यस्तो अहिंसात्मक एवं रचनात्मक दबाबमा नागरिक समाज÷आन्दोलनले पनि सहकार्य गर्न सक्ने छ ।
पुनश्च, हाल नेपाली कांग्रेसका उपसभापति रहेका विजय गच्छदारमाथि मुद्धा चलाइएको घटनालाई नेपाली कांग्रेस माथिकै आक्रमण भनि एक कोणबाट भएको दुष्प्रचारले म दुखित छु । २०६३ को राजनीतिक परिवर्तन पश्चात नेपाली कांग्रेस परित्याग गरी २०७४ सालसम्मको १२ वर्षको अवधिमा विजय गच्छदारले सार्वजनिक तवरमा नेपाली कांग्रेसप्रति व्यक्त गरेको घृणा र आरोपको सुची लामो छ । साथै नेपाली कांग्रेसका तर्फबाट नभई अर्कै राजनीतिक दलको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको रुपमा राष्ट्रिय हित विपरित गच्छदारले गरेको निर्णयका कारण हाल गच्छदारमाथि मुद्धा चलेको धु्रव सत्यलाई मनन गर्न पनि इमान्दार कांग्रेसजनहरुलाई म सादर आग्रह गर्दछु ।
जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्र माथि खतरा छ भने नेताहरुको भ्रष्ट आचरण, उन्मुक्ति र दण्डहीनताका कारणले छ भन्ने मेरो धारणा छ ।

कृष्ण पहाडी
मिति : २०७६ माघ २५
समय : मध्यान्ह १२:१५ बजे